माक्र्सवादले नै सर्वप्रथम बैज्ञानिक समाजवादलाई विश्व सामु स्पष्ट रुपमा प्रस्तुत गरेको थियो । त्यसकारण हामीले माक्र्सवादको आधारभुत ज्ञान प्राप्त गर्नु अनिवार्य छ । तर माक्र्सवादका पनि आफ्नै सिमाहरु थिए । समाज विकासको क्रममा माक्सवादले नयाँ युगका नयाँ विषयहरुलाई समेट्न सकेन,जसका कारण नयाँ सिद्धान्तको आवश्यकता पर्यो । यसको लागि माक्र्सवादको मार्गदर्शनको आधारमा नयाँ सिद्धान्तको निर्माण गर्न माक्र्सवादको समष्टिमा माथि ब्याख्या गरियो ।
माक्र्सवाद आफैमा एउटा गतिशिल मार्गदर्शन मात्र हो । स्वयं माक्र्स र एंगेल्सले भनेका छन् “हाम्रो सिद्धान्त कुनै जडसुत्र होईन । यो त समाज रुपान्तरणका लागि मार्गदर्शन मात्रै हो” त्यसकारण माक्र्संवादले ल्याएको कार्यक्रम आफ्नो युुगको लागि मात्र थियो । तर माक्र्संवादको विश्व दृष्टिकोण सार्वभौमिक छ । त्यसका विशिष्ट कार्यक्रमहरु युग अनुसार परिवर्तन हुन्छन । माक्र्सवादले जुन कार्यक्रम ल्याएको थियो , त्यो लेनिनवादको चरणमा काम लागेन । त्यसैगरि लेनिनवादले ल्याएको कार्यक्रम माओको समयमा काम लागेन र माओ विचार धाराको आगमन आवश्यकता भयो । हाम्रो युगमा पनि नयाँ कार्यक्रमको आवश्यकता परेको छ । त्यसकारण हामीले माक्र्सवादको विश्व दृष्टिकोण सहित, नयाँ युगको कार्यक्रम सहित आफ्नो योजना र आफ्नो सामाजिक ब्यवस्थाको निर्माण गर्नुपर्दछ ।
लेनिनका अनुसार माक्र्सवादको मुल भावना भनेको ‘ठोस परिस्थितिको ठोस विश्लेषण’ हो । त्यसकारण हामीले सर्वप्रथम ठोस परिस्थिति के हो, त्यसको पहिचान गर्नु पर्छ । अहिले हाम्रो ठोस परीस्थिति एउटा छ, विगतमा त्यो अर्कै थियो र भविष्यमा फेरि ठोस परिस्थिति भिन्दै हून्छ । फरक–फरक समयमा परिवेश पनि फरक हुन्छ । त्यो फरक–फरक परिवेशको विश्लेषण पनि फरक ढंंगले गर्नुपर्छ । त्यसैलाई ठोस परिस्थितिको ठोस विश्लेषण भनिएको हो । माओले माक्र्सवादलाई जुत्ताको नाप अनुसार खुट्टा काट्ने होईन,खुट्टाको नाप अनुसार जुत्ता काट्ने हो भनेर ब्याख्या गरे । हामीले जुत्ताको साईज हेरेर खुट्टा काट्यँौ भने त्यो गलत हुन्छ । जुत्ता मुख्य होइन ,खुट्टा मुख्य हो । खुट्टा काटियो भने बनाउन सकिदैन तर जुत्ता जति पनि बनाउन सकिन्छ । समाज रुपान्तरणको कार्यक्रम पनि जुत्ता जस्तो छ । स्थान,समय र परिवेश अनुसार त्यसको निर्माण गर्नु पर्छ । हाम्रो युग के हो, त्यस अनुसार हामीले कार्यक्रम बनाउनु परेको छ । त्यो नै हाम्रो अहिलेको मुख्य कार्यभार हो ।
हामीले बनाउने वर्तमान युगको सामाजिक ब्यवस्था अर्थात् समाजवाद विगतको समाजवाद भन्दा भिन्न हुन्छ । किनभने विगतको परिवेशमा बनेको समाजवादको कार्यक्रम बदलिएको आजको परिवेशमा लागु हुन सक्दैन । त्यसकारण समाजवादको पनि नयाँ स्वरुप बन्छ । नयाँ प्रकारको सामाजवादले मात्र आजको समाजमा सहि ढंगले काम गर्न सक्छ, आजको समस्याको सामाधान गर्न सक्छ । त्यसैलाई हामीले बैज्ञानिक समाजवाद भन्ने नामाकरण गरेका छौं ।अर्थात अहिलेको समाजवादको स्वरुप बैज्ञानिक समाजवाद हो ।
यो बैज्ञानिक समाजवाद भन्ने विषय पहिले पनि थियो । एंगेल्सको एउटा पुस्तक छ –“समाजवाद ः काल्पनिक र बैज्ञानिक”। माक्र्स र एंगेल्सको पनि आफुले ल्याएको समाजवादलाई बैज्ञानिक समाजवाद नामाकरण गरेका थिए । किनभने त्यसबेला समाजवादका धरै रुपहरु थिए । तिनिहरु मध्ये माक्र्सवादले ल्याएको समाजवाद एउटा भेराइटी थियो । त्यसकारण माक्र्स र एंगेल्सले अरुले ल्याएको समाजवादलाई “काल्पनिक समाजवाद” र आफूले ल्याएको समाजवादलाई “बैज्ञानिक समाजवाद” भनेर नामाकारण गरे । त्यहीबाट “बैज्ञानिक समाजवाद” शब्दावली प्रयोग हुँदै आयो । तर अब यसलाई नयाँ ढंगबाट परिभाषित गर्नु पर्ने भएको छ ।
आज हामी एउटा नयाँ विश्वमा छौं । यो नयाँ विश्वमा सोभियत संघ छैन ,शोषित –उत्पीडित वर्गहरुको आशा–केन्द्र समाजवादी सत्ता छैन । कुनै जमानामा संसार हल्लाउने कम्युनिष्ट आन्दोलनमा गतिरोध आएको छ र शक्तिशाली श्रमिक संगठनहरु शिथिल भएका छन् । सम्पुर्ण विश्वमा पुँजीवादीहरुको करिब एकल वर्चश्व (प्रभुत्व) स्थापित भएको छ , जसको प्रतिरोध यात हुदै हदैन या प्रभाहिन हुन्छ । तर पनि,सोभियत संघ नभएकोले यो विश्व नयाँ भएको होईन । त्यसको विपरित,यो विश्वले नयाँ स्वरुपको कारण सोभियत सघको अन्त्य भएको छ र पूँजीवादले पनि अस्तित्व बचाउन आफुलाई बदलेको छ ।अब विश्वमा समाजवाद निर्माण र बचाउने जिम्मा चिन र हामी कम्युनिष्टहरुको काँधमा आएको छ ।
विगतमा नै ढल्छ भनिएको पूँजीवाद अझ हराभरा भएर आएको छ । पहिले आपसमा प्रतिस्पर्धा ,युद्ध र काट–मार गर्ने पूँजीवादीहरु अहिले आश्चर्यजनक रुपले एकजुट ,संयुक्त भएका छन् । इराक,युगोस्लाभिया ,अफगानिस्तान, लिंयिबा र सिरियाको विरुद्ध युद्धमा उनीहरुका एकताको राम्रो परिचय दिएका छन् । यस्ता एकताका दृष्टान्तहरु बहुराष्ट्रिय कम्पनीहरु, निगमहरु र गठवन्धनहरु पनि छन् ।रुस र यृुक्रेन युद्धले विश्वमा ल्याएको स्ांकटमा पनि पुँजीवादीहरु एकजुट देखिन्छन् ।
विगतमा नै ढल्छ भनिएको पूजीवाद अझ हराभर भएर आएको छ , किन ? पहिले आपसमा प्रतिस्पर्धा, युद्ध र काटमार गर्ने पूँजीवादीहरु अहिले एकजुट भएका छन् , किन ? र समाज रुपान्तरणको अजय शक्ति सर्वहारा वर्ग अहिले निष्क्रय भएको छ, किन ? यी प्रश्नहरुको उत्तरको लागि वर्तमान युगको विश्लेषण र अध्ययन गर्नु आवश्यक छ । वर्तमान युगका तीन आधरभुत विशेषताहरु छन् –(१) नयाँ उत्पादक शक्तिको रुपमा विज्ञान र प्रविधिको विकास ,(२) समाजको नयाँ संरचना र (३) पूँजीवादको नयाँ स्वरुप । त्यसो त बर्तमान विश्वमा समाजवादीहरुको कमि छैन । हाम्रो देश नेपालमा त झन् समाजवादीहरुको नै बहुल्यता छ । हालैमात्र नेपालमा नेकपा (माओवादी केन्द्र) को अगुवाईमा सामाजवादी मोर्चा नेपालको गठन भएको छ । जसबाट नेपाल लगायत विश्व भरीका समाजवादीहरुमा आशाको संचार गराएको छ । अन्तमा बैज्ञानिक समाजवाद वर्तमानमा हाम्रो एक मात्र लक्ष्य र उदेश्य हो भन्दा अत्युक्ति नहोला, ……धन्यवाद !
(रमेश सुनुवारको पुस्तक “बैज्ञानिक समाजवादको रोडम्याप” बाट झिकिएको ः शताब्दी वर्ष ब्यक्ति)