वैज्ञानिक समाजवाद र यसका मुख्य विशेषताहरू

वैज्ञानिक समाजवाद र यसका मुख्य विशेषताहरू: मिलन अाफन्त

पुँजीवादी समाजकाे गर्भबाट जन्मिएको एक राजनीतिक–आर्थिक व्यवस्था, जसले कम्युनिस्ट पार्टीको नेतृत्वमा सर्वहारा वर्गको अधिनायकत्व स्थापित गर्दछ , उत्पादक शक्ति र उत्पादन सम्बन्धमा पुँजीवादी अन्तर्विरोधको समाधान गर्दछ, श्रमलाई मानव जीवनको अभिन्न अङ्गको रूपमा स्थापित गर्दछ, शोषणका विभिन्न रूपहरूको अन्त्य गर्दछ र राजनीतिक प्रणालीलाई राज्यको विनाशीकरणको बिन्दुसम्म डोर्‍याउने सङ्कल्प राख्दछ, त्यस्तो राजनीतिक व्यवस्थालाई नै वैज्ञानिक समाजवाद भनिन्छ।

वैज्ञानिक समाजवादले राज्य र इतिहास सम्बन्धि विधमान अधिभुतवादि, आदर्शवादी र सार सङ्ग्रहवादी धारणाहरूलाई खारेज गर्दछ। यसले इतिहासलाई सामाजिक उत्पादन पदृतिको जगमा उभिएर ऐतिहासिक भौतिकवादी दृष्टिकोणले विवेचना गर्दछ र वस्तुगत निष्कर्ष निकाल्दछ। वैज्ञानिक समाजवाद सिद्धान्त मार्क्स र फ्रेडरिक एङ्गेल्सले अघि सारेको राज्य सम्बन्धी मौलिक तथा वस्तुवादी अवधारणा हो। यसले वर्ग सङ्घर्ष, बल प्रयोगको भूमिका, सर्वहारा वर्गको अधिनायकत्व र राज्यको विलाेपिकरणलाई आफ्नो प्राण ठान्दछ।

वैज्ञानिक समाजवादको उत्पत्ति र अाैचित्य बारे प्रकाश पार्दै “समाजवाद: काल्पनिक र वैज्ञानिक” नामक पुस्तकमा एङ्गेल्स भन्छन्, “जब पुँजीवादी उत्पादन प्रणालीले अधिकांश जनसङ्ख्यालाई बढि भन्दा बढि पूर्ण रूपले सर्वहारा बनाइदिन्छ, त्यसले त्यो शक्तिलाई पनि जन्म दिन्छ, जसलाई अनिवार्य रूपमा यो क्रान्ति गर्नु छ,अन्यथा मेटिएर जानु छ। जब त्यस प्रणालीले पहिलेदेखि नै सामाजिक स्वरूप लिइसकेका उत्पादनका साधनहरूलाई अधिकाधिक राज्यको सम्पत्तिमा बदलि दिन्छ तब सर्वहारा वर्ग स्वयमले यस क्रान्तिलाई पूरा गर्ने मार्गदर्शन पनि गर्दछ। यस वर्गले राजनीतिक सत्ता माथि अधिकार कायम गर्छ र उत्पादनका साधनहरूलाई राज्यको सम्पत्तिमा बदलि दिन्छ।”

वैज्ञानिक समाजवादका विशेषताहरू बहुअायामिक छन्। विश्वको कुनै खास देश विशेषमा समेत स्थापित भइ प्रयोगमा आइसकेका कारण वैज्ञानिक समाजवादका विशिश्ट विशेषताहरू पनि छन्। यसलाई सम्बन्धित देशको उत्पादन पदृति, ऐतिहासिकता र सामाजिक चरित्रको आधारमा प्रयोग र विकास गरिन्छ। तर, वैज्ञानिक समाजवादका केही सर्वभौम विशेषताहरू छन्। ती विशेषताहरूका कारण नै वैज्ञानिक समाजवाद अन्य विशेषताभन्दा वैज्ञानिक र क्रान्तिकारी हुन्छ। यसका मुख्य विशेषताहरूलाई बुँदागत रूपमा यसरि उल्लेख गर्न सकिन्छः

१. वैज्ञानिक समाजवाद इतिहास सम्बन्धी द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणमा आधारित छ। यसले राज्यसत्ता र इतिहासबारे सबैखाले प्रत्ययवादी, अनुभववादी, अधिभुतवादी र सार सङ्ग्रहवादी दृष्टिकोणहरूको खण्डन गर्छ र ऐतिहासिक भौतिकवादी दृष्टिकोणको आधारमा राज्यसत्ता, इतिहास तथा मानव मुक्तिका सिद्धान्तहरूको विवेचना गर्दछ।

२. पुँजीवादको गर्भबाट समाजवादी समाजको जन्म हुन्छ। यसले सङ्क्रमणको प्रारम्भिक चरणमा पुँजीवादका कयाैं गुणहरू बाेकेकाे हुन्छ। यद्यपि ती गुणहरू उत्पादन पदृतिको विकासकै क्रममा पैदा भएका अनिवार्य तर अस्थायी गुणहरू हुन्। समाजवादकाे तीव्र विकासको प्रक्रियाले पुँजीवादी अवशेषहरू क्रमशः अन्त्य गरिदिन्छ।

३. पुँजीवादी व्यवस्थामा सर्वहारा वर्गले अतिरिक्त श्रमको मूल्य खोज्दछ। तर, मुनाफामा आधारित पुँजीवादी व्यवस्था त्यसका विरूदृ खडा हुन्छ। त्यही अन्तर्विरोधका कारण पुँजीवादमा वर्ग सङ्घर्ष हुन्छ। त्यस्तो सङ्घर्षको अनिवार्य परिणाम समाजवादी व्यवस्थाको जन्म हुन पुग्छ।

४. समाजवादी आर्थिक–राजनीतिक प्रणाली श्रमको सिद्धान्तमा आधारित छ। आस्रित जनसङ्ख्यालाई छोडेर बाँकी नागरिकका लागि श्रम अनिवार्य हुन्छ। वैज्ञानिक समाजवाद “क्षमताअनुसार काम र कामअनुसार माम” को वितरण प्रणालिमा आधारित व्यवस्था हो।

५. पुँजीवादी व्यवस्थामा उत्पादनका साधनहरू माथि पुँजीपति वर्गको स्वामित्व हुन्छ। तर, वैज्ञानिक समाजवादी व्यवस्थामा उत्पादनका साधनहरू माथि सामूहिक स्वामित्व हुन्छ। त्यस्तो स्वामित्वका दुई रूपहरू छन्, राजकीय स्वामित्व र सहकारीमा आधारित सामाजिक स्वामित्व।

६. पुँजीवादी व्यवस्थामा श्रमिकले श्रमको मूल्य होइन, ज्याला प्राप्त गर्छ। तर समाजवादी प्रणालीमा श्रमिकले श्रमको पूरा मूल्य प्राप्त गर्दछ। श्रमको आधारमा उत्पादित वस्तुहरूको वैज्ञानिक वितरण समाजवादी प्रणालीको नियम हो। समाजवादमा राष्ट्रिय उद्योगबाट प्राप्त लाभांश मजदुरकै आय वृत्ति विकासका लागि खर्च गरिन्छ।

७. समाजवादी व्यवस्थाले कसैमाथि आर्थिक शोषण गर्दैन। तर, पुँजीवादी व्यवस्थामा सत्तासिन पुँजीपति वर्ग समाजवादी व्यवस्थामा शासित वर्गको रूपमा रूपान्तरित हुन्छ। समाजवादी व्यवस्था मेहनतकश जनताको त्यस्तो राज्य सत्ता हो, जहाँ कम्युनिस्ट पार्टीले सर्वहारा वर्गको प्रतिनिधित्वको आधारमा शासनको नेतृत्व गर्दछ।

८. समाजवादमा पुँजीपति वर्गमाथि सर्वहारा वर्गको अधिनायकत्व र नियन्त्रण कायम गरिन्छ। तर, त्यस्तो अधिनायकत्व पुँजीपति वर्गमाथि राजनीतिक शोषण गर्ने उद्देश्यदृारा होइन, पुँजीपति वर्गले समाजवादी व्यवस्था विरुद्ध गर्न सक्ने प्रतिक्रान्तिको खतराबाट बचाउने उद्देश्यदृारा कायम गरिन्छ। यो अधिनायकत्व दीर्घजीवी नभएर राज्यको विलाेपिकरणको प्रक्रियासम्म लैजाने एउटा माध्यम मात्र हो।

९. समाजवादको प्रारम्भिक चरणमा शारीरिक श्रम र मानसिक श्रमको भेद रहन्छ। तर श्रमको अनिवार्यताका कारण समाजवादले शारीरिक र मानसिक श्रमको दुरि क्रमशः घटाउँदै यसको भेद अन्त्य गर्दछ। शारीरिक श्रम र मानसिक श्रमको भेद अन्त्य गर्ने माध्यमको रूपमा बुद्धिजिविहरू शारीरिक श्रमको एउटा हिस्सामा सहभागि हुन्छन्। अर्कोतिर समाजवादी व्यवस्थामा शिक्षालाई आम नागरिकको नैसर्गिक अधिकार हुनाले श्रमिकहरू पनि बौद्धिक कार्यमा संलग्न हुने भौतिक परिवेश निर्माण हुन्छ।

१०. समाजवादी व्यवस्थाले मजदुर र किसान बीच विधमान अन्तर्विरोध एवम् गाउँ र शहर बीचको अन्तर्विरोधलाई पनि क्रमशः मेटाउँदै जान्छ। कृषिको औद्योगिकीकरण प्रक्रिया र राष्ट्रिय विकासमा समानताको आधारमा यस्तो अन्तर्विरोधको समाधान गरिन्छ।

११. वैज्ञानिक समाजवाद उन्नत मानवीय एवम् समाजवादी चेतनामा आधारित हुन्छ। सांस्कृतिक क्रान्ति नै त्यस्तो क्रान्ति हो, जसले मानिसको दार्शनिक प्रणाली, सोच्ने तरिका र श्रमप्रति विश्वास पैदा गर्दछ। मानिसको अन्तरमनदेखि समानताको भावना विकसित गर्न यस्तो क्रान्तिले निर्णायक भूमिका खेल्दछ।

१२. वैज्ञानिक समाजवाद सर्वहारा वर्गको नेतृत्व कायम भएको शासन प्रणाली हो। त्यसको नेतृत्व कम्युनिस्ट पार्टी मार्फत अभिव्यक्त हुन्छ। कम्युनिस्ट पार्टीको बलियो नेतृत्व बिना साम्यवादी ध्येय सम्म पुग्न सकिदैन।त्यसकारण बलियाे र क्रान्तिकारी कम्युनिस्ट पार्टि समाजवादको आधारभूत सर्त हो।

१३. वैज्ञानिक समाजवाद कम्युनिस्ट समाजको पहिलो अवस्था हो। अर्थात् यो आवश्यकताको संसार हो। तर समाज त्यहीँ रोकिँदैन। समाजवादले निजी सम्पत्ति अन्त्यको भौतिक आधार तयार पार्दछ। यसले राज्यको अाैचित्य पनि क्रमशः कमजोर हुन्छ र समाज राज्यको विलाेपिकरण तर्फ उन्मुख हुन्छ। तसर्थ समाजवादको सबैभन्दा महत्वपूर्ण जिम्मेवारी राज्यको विलाेपि करणको आधार तयार पार्नु हो।

नोट: मनहरि तिमिल्सिनाकाे पुस्तक “समाजवादी क्रान्तिको कार्यदिशा” बाट लिइएको।

शताब्दी वर्ष ब्यक्ति मिलन आफन्त “मार्क्सवादी दर्शन र विश्व राजनीति” नामक पुस्तकको प्रकाशक तथा लेखक हुनुहुन्छ: विश्व सन्देश परिवार।

समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *