परिवारबारे कम्युनिष्ट दृष्टिकोण

परिवारबारे कम्युनिष्ट दृष्टिकोण

परिवार भन्नाले हामी सामाजिक जीवनको प्रारम्भिक इकाई भन्ने बुझ्नुपर्छ। समाजमा परिवारको ठूलो महत्त्व छ। यस लेखमा हामी परिवारबारे कम्युनिष्ट दृष्टिकोण स्पष्ट पार्ने प्रयास गरेका छौं।

परिवारले विश्व राजनीतिमा महत्त्वपूर्ण स्थान राखेको हुन्छ। परिवारको ढाँचाबमोजिम नै समाज र विश्व निर्माण हुँदै आएको छ। परिवारभित्र विवाह, व्यक्तिगत सम्पत्ति, प्रेम, यौन, सन्तान उत्पादन, शिक्षा र नैतिकताजस्ता विषयहरू गाँसिएका हुन्छन्।

परिवारका ऐतिहासिक रूपहरू

परिवार मुख्यतः तीन रूपमा विकास भएको छ—समूह परिवार, युगल परिवार र एकनिष्ठ परिवार।

समूह परिवार परिवारको प्रारम्भिक र प्राचीन रूप हो। यसको पहिलो रूप संगोत्र परिवार रक्त सम्बन्धमा आधारित थियो। एउटा गोत्रका पुरुषहरू र अर्को गोत्रका नारीहरूबीचको सम्बन्धलाई समूह परिवारको दोस्रो रूप मानिन्छ।

युगल परिवार भन्नाले सामूहिक विवाहको प्रचलन भएको परिवार हो। धेरै पत्नीहरूमध्ये एकजना मुख्य पत्नी हुन्थिन् र तिनका पनि धेरै पतिहरूमध्ये एकजना मुख्य पति हुन्थे।

पतिको अधिपत्य भएको एकल परिवारलाई एकनिष्ठ परिवार भनिन्छ।

एङ्गेल्सले यी रूपहरूलाई सम्बन्धित युगसँग जोड्दै भन्नुभएको छ— “जङ्गली युगमा समूह परिवार प्रचलित थियो, बर्बर युगमा युगल परिवार प्रचलित थियो भने सभ्य युगमा एकनिष्ठ परिवार प्रचलित छ।”

कम्युनिष्ट मान्यताअनुसार परिवार

परिवारले कम्युनिष्ट मान्यतालाई अँगाल्नुपर्छ। जनवाद, समाजवाद हुँदै साम्यवादमा परिलक्षित हुने सिद्धान्तलाई परिवारले पालना गर्नुपर्छ। एक पतिको एकमात्र पत्नी र एक पत्नीको एकमात्र पति हुने मान्यतालाई परिवारले अँगाल्नुपर्छ।

क. किरण लेख्नुहुन्छ— “पूँजीवादले नारीहरूलाई तुच्छ घरेलु धन्धामा मात्र कैद गर्‍यो। पछिल्लो समयमा नारीहरूलाई पूँजीवादले घरेलु धन्धाबाट कारखानामा निकालेर एउटा महत्त्वपूर्ण प्रगतिशील काम गर्‍यो। यसबाट नारीले केही हदसम्म शिक्षा र व्यक्तिगत स्वतन्त्रता पनि प्राप्त गरिन्। परन्तु अर्कोतिर यसले छाडापना, स्वच्छन्दता, व्यभिचार र वेश्यावृत्तिको खुला छुट दियो। यसले पितृसत्तावादलाई पनि कायमै राख्यो।”

तर समाजवादी व्यवस्थामा यस्तो हुँदैन। यसबारे लेनिन भन्नुहुन्छ— “नारीको वास्तविक मुक्ति, वास्तविक कम्युनिज्म त्यो बेला र त्यहाँ सुरु हुन्छ, जब र जहाँ यो तुच्छ घरेलु कामकाजका विरुद्ध सर्वव्यापी संघर्ष (राजकीय सत्ताको स्वामी सर्वहारा वर्गको नेतृत्वमा) अथवा वृहत् परिणामको समाजवादी अर्थ व्यवस्थामा त्यसको सर्वव्यापी रूपान्तरण सुरु हुन्छ।”

परिवार, विवाह, प्रेम र नैतिकताबारे कम्युनिष्ट मान्यता

क. किरणका अनुसारः

  • यौन र प्रेम स्वभावैले एकनिष्ठ हुन्छन् र त्यसैले यौन-प्रेममा आधारित विवाह पनि एकनिष्ठ हुन्छ।
  • जहाँ प्रेम छ, त्यहाँ विवाह छ। जहाँ प्रेम छैन, त्यहाँ सम्बन्ध विच्छेद गर्नु उपयुक्त हुन्छ।
  • यौन सम्बन्धलाई मात्र प्रकृतिप्रदत्त होइन, त्यसमा संस्कृतिको पनि सम्मिश्रण हुन्छ। यस प्रश्नमा खुकुलोपना आउन दिनु हुँदैन।
  • पति-पत्नीबीच पारस्परिक सद्भाव, समानता, मैत्री, विश्वास र प्रेमपूर्ण सम्बन्ध हुनुपर्छ।
  • बालबच्चाको पालनपोषण तथा हेरचाहको व्यवस्थासहित समग्र पारिवारिक जिम्मेवारीप्रति सचेत हुनुपर्छ।
  • पारिवारिक हितलाई समाज र क्रान्तिको हितको अधीनमा राख्न प्रयत्नशील रहनुपर्छ।

निष्कर्ष

समाज, राष्ट्र र विश्व निर्माणमा परिवारको अत्यन्त महत्त्व छ। तसर्थ हामीले प्रत्येक परिवारलाई मजबुत बनाउनुपर्छ। परिवारका सबै सदस्यलाई उचित खाने, पढ्ने, बस्ने व्यवस्था, रोजगारी र स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्छ। तब मात्र समाज, राष्ट्र र विश्व उज्यालो बन्दछ। यो मात्र कम्युनिष्ट व्यवस्थामा सम्भव छ।

परिवारलाई कम्युनिष्टहरूले अत्यन्त गम्भीरतापूर्वक सुरक्षित राख्छन्। जुन कुरा समाजवाद र साम्यवादमा मात्र सम्भव छ। प्रत्येक परिवार सुखी भएमात्र समाज, देश र पुरै विश्व सुखी हुन सक्छ। नारी समुदायमाथि जेलिएका पितृसत्तात्मक साङ्लाहरू चुँडाले मात्र सुखी र समृद्ध परिवार बन्न सक्छ।

उन्नत परिवारको समृद्धिका लागि जनवाद, समाजवाद र साम्यवाद हाम्रो लक्ष्य हो।

— मिलन आफन्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *