शिक्षा सम्बन्धी मार्क्सवादी दृष्टिकोण (सच्याइएको र सुधारिएको संस्करण)
मानव जीवनमा शिक्षाको महत्त्व अपार छ। शिक्षा प्राप्त व्यक्तिहरू अन्धकारबाट प्रकाशमा, अज्ञानताबाट ज्ञानमा, अवन्नतिबाट उन्नतिमा र निराशाबाट आशामा पुगेका हुन्छन्। यति महत्त्वपूर्ण शिक्षालाई वर्तमान पूँजीवादी संसारमा पैसा कमाउने माध्यम बनाइएको छ। शिक्षालाई सर्वसाधारणको पहुँचभन्दा माथि पुर्याउने दुष्प्रयास भइरहेको छ। त्यसमाथि वर्तमान शिक्षा प्रणाली अपरिपक्व र अवैज्ञानिक छ। यस्तो शिक्षा प्राप्त गरेका व्यक्तिहरूले अध्ययन पूरा गरेपछि पनि बेरोजगारीको समस्या भोग्नुपर्ने अवस्था छ।
जुनसुकै देशको शिक्षा नीति त्यस देशको राजनीतिक व्यवस्थाको अधीनमा रहन्छ। सामन्ती व्यवस्थामा सामन्त उत्पादन गर्ने शिक्षा प्रणाली, बुर्जुवा व्यवस्थामा बुर्जुवा वर्गको हितअनुकूल जनशक्ति उत्पादन गर्ने शिक्षा प्रणाली र जनवादी तथा समाजवादी व्यवस्थामा जनताका दैनिक समस्या समाधान गर्न सक्ने जनशक्ति तयार गर्ने शिक्षा प्रणाली लागू गरिन्छ। वास्तवमा मार्क्सवादी मान्यतामा आधारित शिक्षा प्रणाली नै विश्वको उत्कृष्ट शिक्षा प्रणाली हो। यस लेखमा हामी शिक्षा सम्बन्धी मार्क्सवादी दृष्टिकोणलाई स्पष्ट पार्ने प्रयास गरेका छौं।
वर्ग दृष्टिकोण र शिक्षा
जुनसुकै व्यवस्थामा पनि शिक्षा नीति आफ्नो वर्गलाई मध्यनजर राखेर तयार पारिएको हुन्छ। कम्युनिष्ट व्यवस्थामा सर्वहारा वर्गलाई केन्द्रमा राखेर शिक्षा व्यवस्था अपनाइन्छ। मार्क्सवादी दृष्टिकोणले निर्देशित कम्युनिष्ट शिक्षा प्रणालीबाट तयार हुने जनशक्ति कहिल्यै बेरोजगार हुनुपर्दैन। सबैले काम पाउँछन्, उत्पादन र वितरण व्यवस्थित हुन्छ, जीवनस्तर उच्च हुँदै जान्छ र असमानता कम हुँदै जान्छ। शिक्षा धनी व्यक्तिको मात्र निजी सम्पत्ति नभई जनताको पहुँचसम्म पुग्छ। विद्यार्थीको चाहना र क्षमताअनुसार उच्च शिक्षासम्म बिना अवरोध अध्ययन गर्न सक्ने वातावरण सिर्जना हुन्छ। शिक्षाको मापदण्ड धनसम्पत्ति नभई चाहना र क्षमता बन्दछ। यही नै शिक्षा सम्बन्धी मार्क्सवादी दृष्टिकोण हो।
मार्क्सवादी शिक्षाको विशेषता
मार्क्सवादको दृष्टिकोण नपुगेको कुनै वस्तु संसारमा छैन। राजनीति, अर्थनीति, संस्कृति लगायत हरेक क्षेत्रमा मार्क्सवादले आफ्नो मौलिक दृष्टिकोण प्रस्तुत गरेको छ। शिक्षामा पनि मार्क्सवादले फरक दृष्टिकोण अँगालेको छ। मार्क्सवादी शिक्षाको अन्तिम उद्देश्य पूर्ण मानव निर्माण गर्नु हो। पूँजीवादी शिक्षा पद्धतिले मानिसलाई स्वार्थी, लोभी र व्यक्तिगत बनाउँदै लगेको छ भने मार्क्सवादी शिक्षा पद्धतिले मानिसलाई व्यावहारिक, सामूहिक र समाजप्रति उत्तरदायी बनाउँछ।
वर्तमान पूँजीवादी व्यवस्थाको शिक्षा नीति वर्ग समन्वयको शिक्षा नीति हो। यसले परस्पर विरोधी वर्गबीच समन्वयको आधारमा ज्ञान दिने दाबी गर्छ, तर वास्तवमा सम्पन्न वर्गको स्वार्थ पूरा गर्छ। यस्तो शिक्षा प्रणालीले विपन्न वर्गलाई बढी परिश्रम गर्न र कम सुविधा लिन बाध्य पार्छ। साँचो अर्थमा वर्तमान बुर्जुवा शिक्षा सर्वसाधारण र मेहनतकश जनताको हितविपरीत छ। तसर्थ मार्क्सवादी शिक्षा दृष्टिकोण वर्तमान शिक्षा प्रणालीको विरुद्धमा उभिन्छ। यसले सबै वर्गको होइन, श्रमजीवी सर्वहारा वर्गको सिद्धान्तलाई अँगालेको हुन्छ र शोषितको पक्षपोषण गर्छ।
मार्क्सवादी शिक्षा पुरातन, रुढिवादी, धार्मिक वा अन्धविश्वासी ढाँचाको होइन, वैज्ञानिक ढाँचाको हुन्छ। विज्ञान र प्रविधिमा आधारित शिक्षा मात्र आधुनिक शिक्षा हो। लेनिनले भनेका थिए—‘साम्यवादको निर्माण मार्क्सवादी दृष्टिकोणले निर्देशित आधुनिक शिक्षाको आधारमा मात्र गर्न सकिन्छ। मार्क्सवादी दृष्टिकोणबिनाको आधुनिक शिक्षाबाट साम्यवादको परिकल्पना मात्र रहन जान्छ।’
ज्ञानको स्रोत र वर्तमान चुनौती
मार्क्सवादले ज्ञानको स्रोत तीन किसिमको हुन्छ भन्ने मान्यता राख्दछः १. वर्ग संघर्षको क्रममा प्राप्त हुने ज्ञान २. उत्पादन संघर्षको क्रममा प्राप्त हुने ज्ञान ३. वैज्ञानिक प्रयोगको क्रममा प्राप्त हुने ज्ञान
पूँजीवादी व्यवस्थाको प्रभुत्व रहेको वर्तमान विश्वमा हामी पूर्ण रूपमा मार्क्सवादी शिक्षा लिनबाट वञ्चित छौं। संसारमा औपचारिक मार्क्सवादी विद्यालयहरू कम छन्, तर कम्युनिष्ट हिमायतीहरूले स्व-अध्ययनमार्फत मार्क्सवादी शिक्षालाई अवलम्बन गरिरहेका छन्।
निष्कर्ष
शिक्षा सम्बन्धी मार्क्सवादी दृष्टिकोण नै शिक्षा सम्बन्धी सबैभन्दा उत्कृष्ट दृष्टिकोण हो। मार्क्सवादी दृष्टिकोणले निर्देशित शिक्षाले मात्र विश्वभरिका जनताको मुहार फेर्न सक्छ। मार्क्सवादी शिक्षाका लागि हामी विश्ववासीहरूले आ-आफ्नो सरकारलाई दबाब दिनुपर्छ। अन्यथा जनवाद र समाजवादका लागि संघर्ष गर्न पनि पछि पर्नु हुँदैन, जहाँ मात्र मार्क्सवादी शिक्षाको सुनिश्चितता हुन्छ।
शिक्षा सम्बन्धी मार्क्सवादी दृष्टिकोण अजेय छ, पूर्ण छ र जनताको पक्षमा छ।
— मिलन आफन्त (शताब्दी वर्ष व्यक्तित्व)